धरान, साउन २ — विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले साउन २ गते विजयपुर दरबार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्दै दरबार परिसरको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्वबारे विस्तृत श्वेतपत्र सार्वजनिक गरेको छ। समितिले विजयपुर दरबार क्षेत्रमा पछिल्ला वर्षहरूमा भएका संरचनागत हस्तक्षेप, पुरानो चिहान भत्काइएका घटना तथा विभिन्न समुदायबीच देखिएको विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
समितिद्वारा सार्वजनिक श्वेतपत्रमा विजयपुर दरबार परिसर नेपालकै महत्वपूर्ण ऐतिहासिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा राज्यले पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ। समितिका अनुसार दरबार क्षेत्रको ऐतिहासिक स्वरूप कायम राख्नुपर्नेमा विभिन्न परियोजनाका नाममा संरचना निर्माण, भौतिक हस्तक्षेप तथा स्थानीय समुदायसँग पर्याप्त परामर्श नगरी काम गरिँदा विवाद सिर्जना भएको हो।
श्वेतपत्रमा विशेषगरी विजयपुर क्षेत्रमा रहेको पुरानो चिहान भत्काइएको विषयलाई संवेदनशील रूपमा उठाइएको छ। समितिले उक्त कार्यले स्थानीय आदिवासी जनजाति समुदायको सांस्कृतिक तथा ऐतिहासिक सम्पदामा असर पुगेको दाबी गरेको छ। साथै पछिल्लो समय राई समुदायले चिन्डो स्थापना गरेपछि विवाद थप सतहमा आएको उल्लेख गरिएको छ। समितिले यस विषयलाई कुनै एक समुदायबीचको विवादका रूपमा नभई ऐतिहासिक सम्पदाको संरक्षणसँग जोडिएको विषयका रूपमा हेर्न आग्रह गरेको छ।
समितिले यसअघि विजयपुर क्षेत्रमा एकीकृत सहरी विकास परियोजनाअन्तर्गत निर्माण गरिएका केही संरचनाले ऐतिहासिक सम्पदाको मौलिकता कमजोर बनाएको पनि श्वेतपत्रमा उल्लेख गरेको छ। भविष्यमा यस्ता योजना अघि बढाउँदा स्थानीय समुदाय, सरोकारवाला संस्था, इतिहासविद्, पुरातत्त्वविद् तथा सांस्कृतिक विज्ञसँग अनिवार्य परामर्श गर्नुपर्ने माग राखिएको छ।
श्वेतपत्रका मुख्य मागहरू
– विजयपुर दरबार परिसरलाई ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाका रूपमा कानुनी संरक्षणको सुनिश्चितता।
– परिसरभित्र नयाँ भौतिक संरचना निर्माण गर्नुअघि विस्तृत अध्ययन र सार्वजनिक सहमति।
– ऐतिहासिक सम्पदामा असर पर्ने निर्माण तथा गतिविधि तत्काल रोक्नुपर्ने।
– विजयपुर दरबार क्षेत्रको संरक्षण, पुनर्स्थापना र व्यवस्थापनका लागि छुट्टै दीर्घकालीन गुरुयोजना निर्माण।
– विजयपुर दरबार परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल।
– विजयपुर दरबार क्षेत्रलाई नेपालको प्रमुख पर्यटकीय तथा ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्न सरकारसँग आग्रह।
समितिले विजयपुर दरबार नेपालको साझा सम्पत्ति भएकाले यसको संरक्षण कुनै एक जाति वा समुदायको मात्र नभई सम्पूर्ण नेपालीको दायित्व भएको उल्लेख गर्दै सबै पक्षलाई ऐतिहासिक सम्पदाको संरक्षणमा सहकार्य गर्न अपिल गरेको छ।

























Discussion about this post