संखुवासभा — भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले चौरीका पुच्छरसहित एक व्यक्ति पक्राउ परेको घटनालाई लिएर सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्। उनले राज्यले भोटखोलालाई उपेक्षा गरिरहेको अवस्थामा पत्रकारिता क्षेत्रले समेत तथ्य र यथार्थ नबुझी समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन्।
अनलाइन खबरमा ‘७३ थान चौरीका पुच्छरसहित एक जना पक्राउ’ शीर्षकमा समाचार प्रकाशित भएपछि अध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
अध्यक्ष लामाले याक र चौरीको पुच्छर आफैंमा अवैध वस्तु नभएको दाबी गर्दै स्थानीय व्यापारीले भन्सार तिर्न खोज्दा समेत राज्यका सम्बन्धित निकायले राजस्व लिन नमानेको आरोप लगाए। उनका अनुसार भोटखोलाको थुदाम, रिदाक र किमाथांका क्षेत्रमा रहेका करिब २७ सय याक तथा चौरीबाट पुच्छर संकलन गरी ल्याइएको हुनसक्ने भएकाले त्यसलाई किमाथांका नाकाबाट भन्सार छली गरी ल्याइएको निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ।
उनले पत्रकारलाई तथ्य, विषयवस्तुको यथार्थ र सत्यका आधारमा कलम चलाउन आग्रह गर्दै भनेका छन्, “याक र चौरीको पुच्छर अवैध वस्तु होइन। भन्सार तिर्न खोज्दा भन्सार लिन मान्दैन राज्य, अनि प्रहरी लगाएर मान्छे थुनेर जरिवाना तिराउँछन्।”
अध्यक्ष लामाले भोटखोला गाउँपालिकाले किमाथांकामै सीमा प्रशासन र भन्सार कार्यालय स्थापना गर्न पटक–पटक सम्बन्धित निकायसँग लिखित तथा मौखिक माग गर्दै आएको बताए। तर, हालसम्म ती कार्यालय किमाथांका पठाउन नसक्नुको कारणबारे समेत पत्रकारितामार्फत प्रश्न उठाउनुपर्ने उनको भनाइ छ।
उनले भन्सार तिर्न पाउने अधिकारबाट स्थानीय व्यापारीलाई वञ्चित गरिएको दाबी गर्दै भनेका छन्, “भन्सार तिर्छु भन्दा नलिएपछि अर्को बाटो अपनाउन स्थानीय व्यापारी बाध्य भएको हुन सक्छ।”
अध्यक्ष लामाले अब जिल्ला प्रशासन कार्यालयमा सीमा प्रशासन तथा भन्सार कार्यालय तत्काल किमाथांका पठाउन माग गर्दै पत्र लेख्ने बताएका छन्। त्यसपछि पनि माग सुनुवाइ नभए स्थानीय बासिन्दालाई साथमा लिएर थप कदम चाल्ने चेतावनीसमेत उनले दिएका छन्।
यसैबीच, प्रकाशित समाचारमा किमाथांकाबाट चौरीका पुच्छर ल्याएर आएका खाँदबारी नगरपालिका–३ का करिब २६ वर्षीय लावाङ भोटेलाई नियन्त्रणमा लिइएको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीलाई उद्धृत गर्दै समाचारमा ती चौरीका पुच्छर किमाथांका नाकाबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको प्रहरीको भनाइ रहेको उल्लेख गरिएको छ।
प्रहरीको उक्त दाबीप्रति नै अध्यक्ष लामाले मुख्यतः आपत्ति जनाएका हुन्। उनले पुच्छरको स्रोत, स्थानीय उत्पादन तथा संकलनको अवस्था र भन्सार तिर्न खोज्दा सम्बन्धित निकायले राजस्व लिन नमानेको विषयसमेत छानबिन र सार्वजनिक बहसको विषय बन्नुपर्ने बताएका छन्।
घटनामा पक्राउ परेका व्यक्तिमाथि के कानुनी प्रक्रिया अघि बढाइएको छ तथा बरामद गरिएको चौरीका पुच्छरको स्रोत र भन्सारसम्बन्धी वास्तविक अवस्था के हो भन्ने विषय भने सम्बन्धित सरकारी निकायको आधिकारिक अनुसन्धानपछि स्पष्ट हुने देखिन्छ।




















Discussion about this post