धरान । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद् धरानले गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले जारी गरेको शोक वक्तव्यमा बाढीबाट प्रभावित तथा पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।
भोटेकोशीमा आएको भीषण बाढीले नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक तथा सरकारी संरचनालगायत महत्वपूर्ण भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको भन्दै महासंघले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्लो बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिएको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताइएको छ।
महासंघले बाढीमा बेपत्ता तथा जोखिममा रहेका नागरिक, पर्यटक, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी तथा स्थानीय बासिन्दाको तत्काल खोज, उद्धार र सुरक्षित पुनर्स्थापनाको काम प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
शोक वक्तव्यमा बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राखी संघ, प्रदेश र स्थानीय तहका सबै निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवालालाई एकजुट भएर परिचालन हुनसमेत अपिल गरिएको छ।
महासंघ नगर समन्वय परिषद् धरानका अध्यक्ष हेमराज जिमी याक्खा र सचिव कर्ण सुनुवारद्वारा जारी वक्तव्यमा विपद्को यस दुःखद घडीमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ।





















Discussion about this post