ठमेलमा फेरि भेट्रान फुटबलको रोमाञ्च : ‘दोस्रो ठमेल भेट्रान पर्यटन कप २०२६’ आयोजना हुँदै

​काठमाडौँ — काठमाडौँको पर्यटकीय केन्द्र ठमेलमा आगामी असोज पहिलो सातादेखि ‘एक्सट्रिम इनर्जी ड्रिंक दोस्रो ठमेल भेट्रान पर्यटन कप २०२६’ आयोजना हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजना तथा ‘ठमेल XI’ को कार्यक्रम व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

​प्रतियोगिताको तयारी, उद्देश्य तथा पुरस्कारबारे जानकारी दिन रोयल सुइट्स बुटिक होटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो।

​लैनचौरस्थित फुटबल मैदानमा सेप्टेम्बर २३ देखि २७ (असोज ७ देखि ११) सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष वा सोभन्दा माथिका खेलाडीहरू सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन सेप्टेम्बर २३ मा गरिने आयोजकले जनाएको छ।

​खेलकुदका माध्यमबाट सक्रिय जीवनशैली, आपसी भाइचारा र सामुदायिक सहभागिता बढाउनुका साथै ठमेलको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

​विजेतालाई २ लाख पुरस्कार

​प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

​पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष दीपक गुरुङ, नेपाल पर्यटन बोर्डका अध्यक्ष राजु डंगोल, अतिथि गीता गुरुङ, परिषद्का कोषाध्यक्ष कन्चु भुटिया, लैनचौर युवा क्लबका अध्यक्ष रा. रजक र छत्रपाटी निःशुल्क चिकित्सालयका डा. मनोजमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन ममता खड्काले गरेकी थिइन्।

​’एक्सट्रिम इनर्जी ड्रिंक’ मुख्य प्रायोजक रहेको यस प्रतियोगितालाई भव्य रूपमा सफल पार्न आयोजकले खेलप्रेमी, स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूसँग उपस्थिति र सहयोगको अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित