जेन-जी आन्दोलन र प्रतिक्रान्ति …

दलीय स्वेच्छाचारिता, बेथिति, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद, बेरोजगारी, वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज विरुद्ध थियोे जेन-जी आन्दोलन ।

दुई दिने आन्दोलनमा सबै देख्यौं । लाखौं युवा विद्यार्थीहरूकाे स्वत:स्फूर्त प्रदर्शन, राज्यको बर्बर दमन, दुई दर्जन बढीको हत्या, सयौं घाइते, बढ्दो जनसमर्थन, पुरातन दल र नेताहरूप्रतिकाे आक्राेश । त्यसपछि, स्वार्थ समूहकाे प्रवेश, अराजक जत्थाहरूकाे उन्मत्त प्रदर्शनी, आगजनी, ताेडफाेड, हिंसात्मक र गैरराजनीतिक क्रियाकलाप, सम्भावित ‘बाह्य हस्तक्षेप’ काे आभाष । लगत्तै, राष्ट्रिय सेनाकाे उपस्थिति र परिचालन ।

तेस्रो दिनमा आइपुग्दा भने जेन-जी समूहमाथिको पुनरुत्थानवादी शक्ति हावी हुन खाेजेकाे देखियाे । नेपाली सेनाले बाेलाएकाे वार्तामा राजावादी दुर्गा प्रसाईकाे आकस्मिक र चाेर बाटाे प्रवेशले ‘खिचडी’ पाक्दै गरेको बुझिन्छ । खासगरी, मङ्गलबारका दिनकाे सुरुवाती प्रदर्शन शान्तिपूर्ण रहेपनि दिन ढल्कने क्रममा भएको लुटपाट, ताेडफाेड, आगजनी र भाैतिक आक्रमण गत चैत १५ गते काठमाडौंकाे तीनकुनेमा भएको माेडलमै भएका थिए । त्यतिबेला, राजतन्त्र र हिन्दू राज्यपक्षधरहरूले जुन शैली अपनाएका थिए । हिजाे घुसपैठ गर्ने जत्थाहरूले पनि त्यहीँ तरिका अपनाए । धमिलो पानीमा माछा मार्ने समूहहरू पनि देखिए । अपराधमा जेल जीवन काटिरहेका १८०० बढी कैदी र अभियुक्तहरूकाे जेल ब्रेक त्यसको उदाहरण हाे । यसले जेन-जी आन्दोलनमा पर्याप्त नियन्त्रण र शुद्धीकरण नभएको देखियो । जसले बलिदान भएको आन्दोलनलाई विकृत र बदनाम बनाउन खाेज्याे । साेमबारकाे दमनले सबै शाेक र आक्राेशमा थिए । एक दिनपछिकाे दृश्यले धेरैको मन खल्लो र बेस्वाद भयो । ३६ घण्टाभित्र घुँडा टेकेकाे ओली सरकार अपदस्थ हुँदा जुन उत्साह दिएको थियोे । घुसपैठिया शक्तिले छाडेर गएको स्मृतिले बिर्सनलायक बनाइदियाे ।

प्रारम्भिक वार्ता बसेर फर्किएको जेन-जी समूहले भर्चुअल बैठकमा छलफल गरेको विषय र संक्षेपीकरण गरेको मुद्दाले ‘प्रतिगमन’ मा जाने सङ्केत दिन्छ । ०६२/०६३ काे दाेस्राे जनआन्दोलन, पहिचानको आन्दोलन, उत्पीडितहरूकाे विशाल आन्दोलनले संस्थागत गरेको उपलब्धिमाथि छलफल हुन सक्छ । तर, सनककाे भरमा निर्णय गरेर पछाडि फर्कनु प्रत्युत्पादक मात्रै हाेइन । स्थायी द्वन्द्वलाई निम्तो हुनेछ ।

जेन-जी पुस्ताकाे आन्दोलन फगत उमेर समूहको मात्रै आन्दोलन नभएर वैचारिक आन्दोलन हुनुपर्छ । पार्टी र पात्र परिवर्तन ठूलो इस्यू हाेइन । तर, व्यवस्था परिवर्तनको प्रयासले मात्रै पनि देश थप भड्खालाेमा जानेछ । नेपालको संविधान, २०७२ त्रुटिपूर्ण नभएको हाेइन । तर, यसलाई संशोधन गर्न सकिने आधार छ । कानुनी प्रावधान छ । तर, संविधानको जग नै हल्लाउने प्रस्ताव जाेखिमपूर्ण छ ।

जेन-जी पुस्ता (सन् १९९७-२०१३) प्रविधिसँग हुर्किएकाे पुस्ता हाे । याे पुस्तालाई सबैभन्दा प्रगतिशील मानिन्छ । संसारभर उठेका जेन-जी आन्दोलन समाजवादी व्यवस्था मन पराउने पुस्ता हाे । समता (Equity), विविधता (Diversity) र समावेशीकरण (Inclusion) जेन-जी पुस्ताले अनुसरण गरेको विचार हाे । संविधानले आत्मसात गरेको गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीकरण, समानुपातिकता त्यहीँ समता, विविधता र समावेशीताकै राजनीतिक व्यवस्था र विधि हाे । त्यसलाई बारम्बार चलाउनु पश्चगमन र अस्थिरतामा जानु हाे ।

पुनरुत्थानवादले नेपालमा पृथकतावाद र विखण्डनवादलाई निम्तो दिन्छ । सिमान्तकृत, उत्पीडित र बहिष्करणमा परेका समुदाय, वर्ग र क्षेत्रले उठाएको आन्दोलन सनक या उन्माद थिएन । त्याे ऐतिहासिक आवश्यकता र विभेदबाट मुक्तिका लागि गरिएका जनताका आन्दोलनहरू थिए । जहाँ सयाैँ सहिद भएका छन् । हजारौं घाइते भएका छन् । लाखौंले महिनाैँ सडक तताएका छन् । राजनीतिमा एउटा न्याय र समानताको आन्दोलनले अर्को न्याय र समानताको आन्दोलनलाई निषेध गर्नु हुन्न । एउटा अधिकार प्राप्तिको आन्दोलनले अर्कोलाई छेक्नु हुन्न । एउटा जायज मागले अर्कोलाई दबाउनु हुन्न । यदि त्यसाे हुन खाेजे प्रतिक्रान्तिका आन्दोलनहरू उठ्नेछन् । र, समाज र देश मुठभेडमा जानेछ ।

नेपालमा उठेको जेन-जी पुुस्ताकाे आन्दोलनकाे अधिकांश मागहरू सामाजिक र कानुनी छन् । केही राजनीतिक र संवैधानिक । शिक्षा, स्वास्थ्य र राेजगारकाे निर्माण राज्यको दायित्वमा राखेर मात्रै हाेइन कार्यान्वयनकाे तहमा लगेर सम्बाेधन गर्न सकिन्छ । त्याे भनेको कि त लाेककल्याणकारी राज्य वा समाजवादी व्यवस्थाले मात्रै हल गर्न सकिन्छ । बिजनेस टाइकुन या खर्बपतिहरूकाे क्लबकाे बन्धक भएको राज्यले फेरि पनि एलिट पुस्ता र ‘नेपाे-बेबी’ हरूलाई मात्रै संरक्षण गर्नेछ ।

नेपालकाे शैक्षिक संस्था बुज्रुक जन्माउने थलाे मात्रै हाेइन । प्रतिस्पर्धा गर्ने, उत्पादनमूलक र विवेकी चिन्तनलाई प्रबर्द्धन गर्ने हुनुपर्छ । शिक्षामा दलीय राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्छ । तर, विश्वविद्यालयमा कल्याणकारी काम गर्ने र गुनासालाई सम्बन्धित तहमा लैजाने गैरदलीय विद्यार्थी युनियन भने रहनुपर्छ । राेजगारी निर्माण अर्थतन्त्रको आकारले निर्धारण गर्दछ । संविधानमा माैलिक अधिकारको सूचीमा राखेर मात्रै हुन्न । राेजगारी दिन नसके न्यूनतम जीवन निर्वाह गर्ने भत्ता वा बेरोजगारी भत्ता दिनुपर्छ । सर्वसलुभ स्वास्थ्यका लागि स्वास्थ बिमा बाेर्ड निर्माण गरिनुपर्छ । अस्पताल भर्नादेखि ओैषधाेपचारसम्मका झन्झटिला प्रक्रियाहरू सरल र प्रविधिमैत्री बनाइनुपर्छ । यी सबै कुराहरूमा सामाजिक समूह पनि हेर्नुपर्छ । गरिब, निमुखा, वृद्ध, फरक क्षमता, अल्पसंख्यक समूहहरूलाई विशेष सुविधा दिइनुपर्छ ।

जेन-जी पुस्ता स्मार्ट पुस्ता हाे । त्याे भनेको परम्परागत ढाँचामा काम नगरेर नयाँ साेँच, शैली र प्रविधि प्रयोग गर्ने पुस्ता हाे । यसकारण, शास्त्रीय शैलीकाे कडा श्रम नभएर कम समय, लागत र उपकरण प्रयोग गरेर परिणाम खाेज्ने र दिने पुस्ता हाे । यसकारण, निरपेक्ष श्रम सँस्कृतिमा याे पुस्ताले लामाे समय विश्वास गर्दैन । प्रतिस्पर्धा वैश्विक भएकोले श्रमले अधिकतम प्रतिफल दिनुपर्ने हुन्छ ।

मुलुक संक्रमणकालमा गइसकेको छ । अन्तरिम सरकार गठनकाे प्रयास भइरहेको छ । चाँडै नागरिकको नेतृत्वमा बन्ने पनि छ । तर, संसद विघटनले प्रस्तावले संवैधानिक जटिलता निम्त्याउनेछ । व्यवस्थापिका संसदबिनाकाे संसदीय लाेकतन्त्र अपूर्ण र असन्तुलित हुन्छ । कि त अहिलेकाे प्रतिनिधिसभाकाे विकल्पमा अन्तरिम संसद बनाउनुपर्ने हुन्छ । त्यसमा पनि जटिलता छ । अहिलेका दलबिनाकाे संसद बनाउने कि सहितकाे संसद बनाउने भन्नेमा बहस हुन्छ । संविधान संशोधन गर्न, विघटन गर्न या अन्तरिम संसदमा रुपान्तरण गर्न पनि प्रतिनिधिसभा नै चाहिन्छ । सैन्य शिविरमा गरिएको निर्णयले लाेकतन्त्रकाे तीन खम्बालाई सम्बाेधन गर्दैन । बरु, सैन्य हस्तक्षेपलाई बढावा दिन्छ ।

०७२ काे संविधान नै नमानेको हाे भने ०७२ अघि फर्कनुपर्ने हुन्छ । त्याे भनेको अन्तरिम संविधान, ०६३ काे अवस्थामा हाे । तर, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीकरणमै प्रश्न हाे भने मुलुक एकैपटक ०४७ मा फिर्नेछ । त्याे भनेको जेन-वाई हुँदै जेन-एक्स पुस्ताकाे समय । अहिले सबैभन्दा हेय दृष्टिभावले हेरिएको पुस्ता । त्यसाे हाे भने ४० वर्षअघिकाे पुस्ता र अहिलेकाे पुस्तामा फरक रहँदैन । र, जेन-जी आन्दोलन वैचारिक नभएर प्रतिशाेधपूर्ण प्रतिक्रियामा चित्रित हुनेछ ।

१९ दिन लागेर राजतन्त्र फाल्ने जेन-वाई र जेन-एक्स पुस्ताभन्दा जेन-जी पुस्ताले दुई दिनभित्रै सफलता हासिल गर्‍याे । भाेलिका दिनमा कृत्रिम बाैद्धिकतासँगै हुर्किँदै गरेकाे जेन-अल्फा र जेन-बिटा पुस्ताले अझ केही घण्टामै सत्ता उलटपुलट गर्ला । त्यतिबेला पनि प्राप्त उपलब्धिहरूकाे चर्चा र समीक्षा हुनेछ । हाम्रो पुस्ता बुढ्याैली हुनेछ । तर, लाेकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समानताको मुद्दा कहिल्यै आउटडेटेड हुनेछैन ।

१० सेप्टेम्बर, २०२५

मुकाम : धरान, विजयपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित