काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले राज्यका विभिन्न संरचनामा लागू गरिएको समावेशी कोटा प्रणालीको दुरुपयोग भएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेको एक टिप्पणीमा नयाँ भनिएका शक्ति र नेतृत्वबाट पनि अपेक्षित सुधार नआएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।
तामाङले आफ्नो पोस्टमा लेखेकी छन्, “मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औँला उठाउने मौका पाउने छैनन्। तर त्यस्तो त होइन रहेछ।” उनले निमुखा वर्ग र जातिका लागि छुट्याइएका कोटाहरू प्रभावशाली व्यक्तिका नातेदार, आसेपासे र चिनजानका मानिसले कब्जा गरिरहेको आरोप लगाएकी छन्।
उनको भनाइमा, “यहाँ त निमुखा वर्ग र जातिहरूका लागि छुट्याइएका कोटामा मिस नेपाल हुने रहेछन्, आफ्नो ससुराबा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नै पछाडि दौडिरहने आसेपासे, छिमेकी र सानोमा स्कुल पढ्ने साथीसमेत सांसद र मन्त्री हुने अवसर पाउने रहेछन्।”
तामाङको यो टिप्पणीले समावेशी प्रतिनिधित्व, समान अवसर र सामाजिक न्यायका नाममा लागू गरिएका नीति व्यवहारमा प्रभावशाली वर्गकै हितमा सीमित हुँदै गएको हो कि भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ।
सामाजिक सञ्जालमा उनको पोस्टलाई समर्थन र विरोध दुवै प्रतिक्रिया देखिएका छन्।




















Discussion about this post