गगन थापा, बालेन शाह र पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी शैलीको राष्ट्रव्यापी डिबेट किन अपरिहार्य छ?
चार घण्टाको खुला प्रश्नोत्तरले बदलिन सक्छ नेपाली राजनीति । गगन थापा, बालेन शाह र पुष्पकमल दाहाल प्रचण्डबीच आवश्यक दीर्घ सार्वजनिक बहस ।
अमेरिकी निर्वाचन प्रणालीमा स्थापित राष्ट्रपति उम्मेदवारबीचको खुला बहसले लोकतन्त्रलाई जीवन्त र उत्तरदायी बनाएको छ । नेपालमा प्रधानमन्त्रीका रूपमा लगभग घोषित तीन प्रभावशाली पात्र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर नेपाली कांग्रेसका नेता गगनकुमार थापा, संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी धारमा उभिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र संघीय गणतन्त्रको निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष भूमिका खेलेका नेपाली कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय मुद्दामा सार्वजनिक बहस सम्भव भएमा नेपाली लोकतन्त्रको परिपक्वताको ऐतिहासिक सुरुवात हुनेछ । यसका लागि कान्तिपुरसहित नेपालका प्रमुख टेलिभिजन सञ्चालकहरूले अग्रसरता लिनु आजको आवश्यकता बनेको छ ।
विशेष लेख
अमेरिकी निर्वाचनमा एउटा गज्जवको अभ्यास छ । निर्बाचन अघि राष्ट्रपतिमा घोषित दुई पार्टिका उम्मेदवारहरूको डिबेट गराइन्छ । उनीहरूले प्रस्तुत गरेका एजेन्डा र मुद्दाहरूबाट आम मतदाताले आफ्नो धारणा बनाउँछन् ।
नेपालमा प्रधानमन्त्रीको रूपमा लगभग घोषित अहिलेका पात्रहरू गगन थापा, बालेन शाह र पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय विषय र मुद्दामा सार्वजनिक बहस गराउन सकियो भने त्यसको आधारमा नेपाली जनताले आफ्नो धारणा बनाउन सक्थे । नयाँ अभ्यासको थालनी समेत हुन्थ्यो । कान्तिपुरले अग्रसरता लिएमा गज्जव हुन्थ्यो । यसको अग्रसरता कसले लेला ।
माथि उल्लेख गरिएको यो विचार एउटा सुझावमा सीमित छैन । यो नेपालको लोकतान्त्रिक यात्रालाई अर्को तहमा पुर्याउने प्रस्ताव हो । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको मुलुकका लागि अब भीड, नाराबाजी र सामाजिक सञ्जालका आरोप र प्रत्यारोप पर्याप्त देखिँदैनन् । जनता अब प्रत्यक्ष प्रश्न र प्रत्यक्ष उत्तरको अपेक्षामा छन् ।
नेपालको समकालीन राजनीतिमा तीन फरक धारका तीन प्रभावशाली व्यक्तित्व स्पष्ट रूपमा उभिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधार नेपाली कांग्रेसका नेता गगनकुमार थापा संसदीय लोकतन्त्र, संस्थागत निरन्तरता र संविधानको रक्षा गर्ने धारणा बोकेर अघि बढिरहनुभएको छ । लुसिफर नामले परिचित संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी धारमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह विद्यमान राजनीतिक संरचनाप्रति गहिरो असन्तोष र विद्रोही चेतनाको प्रतिनिधित्व गर्नुहुन्छ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, शान्ति प्रक्रिया र राज्य पुनर्संरचनाको निर्णायक चरणहरूमा केन्द्रीय भूमिका निर्वाह गरेका व्यक्तित्व हुनुहुन्छ । उहाँको अनुभव, निर्णय र विरासत स्वयं बहसको विषय हो ।
यी तीन व्यक्तित्वबीच अमेरिकी चुनावमा जस्तै खुला, प्रत्यक्ष र राष्ट्रिय टेलिभिजनमार्फत प्रसारित बहस सम्भव भएमा नेपालका लागि मात्र होइन दक्षिण एसियाली लोकतान्त्रिक अभ्यासकै लागि पनि उदाहरणीय हुनेछ ।
त्यस्तो बहसमा संघीय प्रणाली किन आवश्यक छ वा किन असफल भयो भन्ने प्रश्न उठ्नेछ । गणतन्त्र सुधार्ने कि प्रतिस्थापन गर्ने भन्ने बहस हुनेछ । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको मूल्याङ्कन हुनेछ । भ्रष्टाचार, सुशासन, विकास, युवा पलायन र राष्ट्रिय स्वाधीनताको वास्तविक समाधान के हो भन्ने विषयमा गम्भीर विचार मन्थन हुनेछ । यहाँ व्यक्तित्वको होइन विचार र नीतिको मूल्याङ्कन हुनेछ ।
यही कारण यो लेखमार्फत नेपालका प्रमुख टेलिभिजन सञ्चालकहरू कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजन, एपी वान, हिमालय टेलिभिजन, न्यूज २४ लगायत सबैलाई सार्वजनिक रूपमा अनुरोध गरिएको छ ।
नेपाली लोकतन्त्रलाई परिपक्व बनाउने ऐतिहासिक जिम्मेवारी वहन गरियोस् ।
भीडमुखी राजनीतिभन्दा विचारमुखी बहसको संस्कृति स्थापित गरियोस् ।
आज अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेर्दा सोधिरहेको प्रश्न यही हो । के नेपाली लोकतन्त्र आलोचनात्मक बहस सहन सक्ने अवस्थामा पुगेको छ ।
यदि यो बहस सम्भव हुन्छ भने धेरै रहस्यहरू खुल्नेछन् ।
यदि सम्भव हुँदैन भने त्यो असम्भव स्वयं एउटा उत्तर हुनेछ ।
नेपाल आज विचारको निर्णायक मोडमा उभिएको देश हो । बहसबाट पन्छिने लोकतन्त्र कमजोर बन्छ । बहसलाई आत्मसात् गर्ने लोकतन्त्र सुदृढ हुन्छ । गगन थापा, बालेन शाह र पुष्पकमल दाहाल प्रचण्डबीचको सार्वजनिक बहस नेपालको आन्तरिक राजनीति मात्र होइन विश्व समुदायका लागि पनि लोकतान्त्रिक साहसको उदाहरण बन्न सक्छ ।
चारदेखि पाँच घण्टाको खुला बहसले बदलिन सक्छ नेपाली राजनीति । गगन थापा, बालेन शाह र पुष्पकमल दाहाल प्रचण्डबीच आवश्यक राष्ट्रिय संवाद ।
यस्तो बहस ठूलो सभाहल, सार्वजनिक रंगशाला वा ऐतिहासिक महत्व बोकेको खुला स्थानमा आयोजना गर्न सकिन्छ । हालमा बसेर सीमित समयभित्र सम्पन्न गर्ने औपचारिक बहसभन्दा फराकिलो स्वरूपमा साझा सवालको शैली अपनाएर निरन्तर चार वा पाँच घण्टासम्म सञ्चालन गर्दा पनि उपयुक्त हुन्छ ।
त्यसरी आयोजना गरिने बहसमा पत्रकार, विज्ञ, नागरिक समाज, युवा र प्रत्यक्ष सहभागी आम नागरिकबाट उठाइने साझा प्रश्नहरू क्रमिक रूपमा प्रस्तुत गरिन सक्छन् । यसले बहसलाई एकपक्षीय प्रदर्शन होइन राष्ट्रिय विमर्शको जीवित अभ्यास बनाउनेछ ।
लामो समयसम्म चल्ने यस्तो खुला बहसले नेताहरूको धैर्य, वैचारिक स्पष्टता, नीतिगत गहिराइ र संकट सामना गर्ने क्षमता स्पष्ट रूपमा देखाउनेछ । छोटा वक्तव्य र भावनात्मक नाराभन्दा दीर्घ संवादले नै राज्य सञ्चालनको वास्तविक योग्यता उजागर गर्छ ।
यस किसिमको निरन्तर बहसले दर्शक र मतदातालाई नेताको भाषण मात्र होइन सोच्ने तरिका, प्रश्न सुन्ने संस्कार र उत्तरदायित्व वहन गर्ने क्षमतासमेत मूल्याङ्कन गर्ने अवसर प्रदान गर्नेछ ।
यदि नेपालमा यस प्रकारको दीर्घकालीन सार्वजनिक बहस सम्भव हुन्छ भने त्यो एक कार्यक्रम मात्र रहने छैन । त्यो नेपाली लोकतन्त्रको अभ्यासमा नयाँ मानक स्थापना गर्ने ऐतिहासिक क्षण हुनेछ ।




















Discussion about this post