काठमाडौं — गायिका ज्योती मगरले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका केही नयाँ नेताहरूमाथि तीखो व्यंग्य गरेकी छन्। उनले आगामी निर्वाचनमा ‘घण्टी’ चुनाव चिन्ह बोकेका उम्मेदवारहरूकै जित हुनुपर्ने भन्दै उनीहरूका भनाइ र एजेन्डालाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरेकी छन्।
मगरले सामाजिक सञ्जालमा लेखेकी छन्, “यसपालि चाहिँ चुनाव घण्टीका नयाँ नयाँ नेताहरूले नै जित्नुपर्छ, उहाँहरूको एजेन्डा र वाणी सारै राम्रा छन्,” भन्दै उनले केही विवादास्पद भनाइहरू सूचीबद्ध गरेकी छन्। ती भनाइहरूमा ‘खसी काटेर खाने भए गोरु काटेर खान पाउनुपर्छ’, ‘चप्पल लगाएर आएका गरिबले राजनीति गर्नु हुँदैन, पैसा कमाएकाले मात्र गर्नुपर्छ’ जस्ता अभिव्यक्तिलाई समेटेर व्यंग्य गरिएको छ।
उनले रास्वपाको जित भएमा ‘बालेन र रविलाई स्याङ्जा ल्याउने बाचा’ जस्ता असम्भव र हास्यास्पद घोषणालाई समेत कटाक्षको विषय बनाएकी छन्। साथै, बलात्कारजस्तो गम्भीर अपराधलाई सामान्य घटनासँग तुलना गर्ने प्रवृत्तिप्रति कडा आलोचना गर्दै यस्ता सोच र चरित्रलाई “अद्भुत क्यारेक्टर” भनेर व्यंग्य गरेकी छन्।
पुराना राजनीतिक नेतृत्वले स्वाधीनता, सार्वभौमता, समावेशिता र दिगो विकासजस्ता विषय उठाउँदा जनताले नबुझ्ने गरेको टिप्पणी गर्दै मगरले व्यंग्यात्मक रूपमा “हाम्रो सोच र हाम्रो स्तरका लागि परफेक्ट नेता” भन्दै केही नयाँ अनुहारहरूको नाम उल्लेख गरेकी छन्।
उनको स्टाटसको अन्त्यतिर फागुन २१ पछि देश ‘बन्ने’ तर त्यो कस्तो बन्ने भन्ने प्रश्न उठाउँदै उनले देश गुलामीतर्फ धकेलिन सक्ने संकेत गरेकी छन्। साथै, उनले व्यंग्यपूर्ण शैलीमै आफू पोर्चुगल हुँदै जर्मनीको ह्याम्बर्गतर्फ लाग्ने उल्लेख गरेकी छन्।
ज्योती मगरको उक्त स्टाटसलाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ। समर्थकहरूले यसलाई साहसी व्यंग्य भनेका छन् भने आलोचकहरूले अभिव्यक्ति मर्यादाहीन भएको आरोप लगाएका छन्।





















Discussion about this post