बीपी प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्यालयको रूपमा विकास गर्न सरकारसँग हर्कराज राईको माग

धरान, असार २२ — प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्यालयको रूपमा स्थापना गर्न सरकारसँग औपचारिक माग गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयलाई सम्बोधन गर्दै राईले पठाएको पत्रमा बीपी प्रतिष्ठान देशकै सबैभन्दा ठूलो स्वास्थ्य पूर्वाधार भएको संस्था भए पनि सरकारको बेवास्ताका कारण आर्थिक संकटतर्फ धकेलिएको उल्लेख गरेका छन्।

पत्रमा प्रतिष्ठानले सञ्चालन खर्चका लागि सरकारबाट पर्याप्त सहयोग नपाएको, करिब दुई हजार शिक्षक तथा कर्मचारीको तलबभत्ता आन्तरिक स्रोतबाट व्यवस्थापन गरिरहेको तथा अस्पतालको आम्दानी र शैक्षिक कार्यक्रम नै मुख्य आयस्रोत रहेको उल्लेख गरिएको छ।

त्यस्तै, बीमा बोर्डबाट करोडौं रुपैयाँ शोधभर्ना भुक्तानी नआउँदा अस्पताल सञ्चालन प्रभावित भएको र चिकित्सा शिक्षा आयोगबाट समयमै भुक्तानी नहुँदा प्रतिष्ठानको आर्थिक अवस्था थप कमजोर बनेको राईको भनाइ छ।

राईका अनुसार करिब ६ सय बिघा क्षेत्रफलमा फैलिएको प्रतिष्ठानमा ९१३ शय्याको अस्पताल, करिब १५ सय विद्यार्थीका लागि छात्रावास तथा १८ सय शिक्षक–कर्मचारीका लागि आवास सुविधा रहेको छ। प्रतिष्ठानमा दैनिक तीन हजारदेखि पाँच हजार बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन्।

पत्रमार्फत उनले हाल १०० रहेको एमबीबीएस सिट संख्या तत्काल १५० पुर्‍याउन, विदेशी विद्यार्थीको ५० सिटको कोटा पुनः कायम गर्न तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्यायको रूपमा विकास गर्ने प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

राईले प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्याय बनाउने प्रस्ताव प्रतिष्ठानको ४३औँ सञ्चालक परिषद्बाट समेत पारित भइसकेको उल्लेख गर्दै आवश्यक निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित