कोन्ज्योसोम गाउँपालिकामा तामाङ मातृभाषा शिक्षाको निरन्तरताको माग

ललितपुर । कोन्ज्योसोम तामाङ ग्योइ लोप्खेन मौजाले कोन्ज्योसोम गाउँपालिकामा सञ्चालन हुँदै आएको तामाङ मातृभाषा शिक्षालाई निरन्तरता दिन माग गर्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ।

मौजाले नेपालको संविधानले शिक्षा तथा भाषा–संस्कृतिसम्बन्धी मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै स्थानीय सरकारले मातृभाषामा शिक्षा प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिनुपर्ने जनाएको छ। ज्ञापनपत्रमा संविधानको धारा ३१ र धारा ३२ अनुसार प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्ने तथा भाषा, लिपि, संस्कृति र सम्पदाको संरक्षण गर्ने अधिकार रहेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रअनुसार कोन्ज्योसोम गाउँपालिकाले २०७९ सालदेखि स्थानीय पाठ्यक्रममार्फत कक्षा १ देखि ३ सम्म तामाङ भाषाको पठनपाठन सञ्चालन गर्दै आएको छ। अब कक्षा ४ र ५ सम्म पनि पाँच पाठ्यघण्टा कायम गरी मातृभाषा शिक्षालाई निरन्तरता दिनुपर्ने माग गरिएको छ।
मौजाले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा अन्य सम्बन्धित निकायका निर्णय र परिपत्रअनुसार अभिलेखमा सूचीकृत लिपिमार्फत मात्रै पाठ्यक्रम तथा पाठ्यपुस्तक सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सोहीअनुसार आवश्यक निर्णय गर्न गाउँपालिकासँग आग्रह गरेको छ।

तामाङ भाषा शिक्षणमा संलग्न शिक्षकहरू र मौजाको संयुक्त बैठकबाट लिपि र पाठ्यघण्टासम्बन्धी निर्णय गरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाइएको जनाइएको छ। ज्ञापनपत्रमा मातृभाषा शिक्षालाई थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय सरकारसँग आवश्यक सहयोग र समन्वयको समेत आग्रह गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित