बिजयपुरमा चिन्डो राखेपछि विवाद चर्कियो,बिजयपुर संरक्षण संघर्ष समितिद्वारा बिरोधको नयाँ शैली सरसफाइ अभियान (भिडियो सहित )

 

धरान, साउन २। ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा रहेको पूजा थानमा किरात राई समुदायले राखेको ‘चिन्डो’ (वाबु) का कारण उत्पन्न विवाद थप चर्किएको छ।

विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले शनिबार सरसफाइ अभियान सञ्चालन गर्दै ऐतिहासिक सम्पदाको संरक्षण र पुरातात्त्विक उत्खननको माग दोहोर्‍याएको छ।
संघर्ष समितिका अनुसार ऐतिहासिक पूजा थानभित्र पछिल्लो समय चिन्डो राखिनु ऐतिहासिक संरचनामाथिको अतिक्रमण हो। समितिले ऐतिहासिक क्षेत्रभित्र नयाँ धार्मिक संरचना थपिन नहुने र विजयपुर दरबारको मौलिक स्वरूप (Virginity) जोगाउनुपर्ने माग गरेको छ।
सरसफाइ अभियानमा सहभागीहरूले प्लास्टिकजन्य फोहोर मात्र संकलन गरिएको र प्राकृतिक तथा पुरातात्त्विक संरचनामा कुनै क्षति नपुर्‍याइएको बताएका छन्।

यता, कार्यक्रममा सहभागी याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नवीन मेन्याङ्बोले राई र लिम्बु समुदायबीचको विवादलाई सामाजिक सञ्जालले बढाइचढाइ गरेको टिप्पणी गर्दै दुवै समुदायबीच संवादमार्फत आधा घण्टामै समाधान सम्भव रहेको बताए। उनले ऐतिहासिक प्रमाण, वंशावली र पुरातात्त्विक अध्ययनका आधारमा निष्कर्षमा पुग्नुपर्ने धारणा राखे।

उनका अनुसार विजयपुर, सुम्निमा–पारुहाङ क्षेत्र, धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर पर्यटन विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ।

अर्कोतर्फ, संरक्षण पक्षका केही प्रतिनिधिहरूले पूजा थानभित्र राखिएको चिन्डो हटाइनुपर्ने धारणा राखे भने अन्य सहभागीहरूले यस विषयलाई वार्ता र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।
यसैबीच, सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको पहलमा सम्बन्धित पक्षबीच वार्ता हुने जानकारी पनि कार्यक्रममा दिइएको छ।

मुख्य विवाद
– ऐतिहासिक पूजा थानभित्र राखिएको चिन्डो हटाउने वा यथावत् राख्ने।

– विजयपुर दरबारको ऐतिहासिक तथा पुरातात्त्विक मौलिकता जोगाउने।

– बुद्धिकर्ण रायको ऐतिहासिक पहिचानबारे फरक–फरक दाबी।

– विजयपुर दरबारलाई पुरातात्त्विक संरक्षण गरी भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकृत गराउने माग।

पुजा थान भित्र गाडुएको चिन्डो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित