धरान, साउन ११ – धरानको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विजयपुर क्षेत्रमा स्थापना गरिएको चिन्डोको प्रतीक आइतबार बिहान उखेलिएको अवस्थामा भेटिएको छ। घटनापछि यसको तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्।
घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। चिन्डो कसले र किन उखेलेको हो भन्ने विषयमा भने हालसम्म आधिकारिक पुष्टि भएको छैन।
विजयपुर क्षेत्रमा पछिल्ला वर्षहरूमा राई यायोक्खाले चिन्डोको प्रतीक स्थापना गर्ने तथा लिम्बू चुम्लुङले सिलाम साक्मा स्थापना गर्ने विषयलाई लिएर विवाद हुँदै आएको थियो।
यसअघि तत्कालीन IUDP खानेपानी आयोजनाअन्तर्गत खानेपानी ट्यांकी निर्माणका क्रममा रुख कटान भएपछि चार किरात पक्षले विरोध जनाएका थिए। त्यसपछि निर्माण कार्य रोकिएको थियो। सोही विषयमा सर्वोच्च अदालतमा रिट दायर भएपछि अदालतले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै विकास निर्माणका काम अघि बढाउनुपर्ने आदेश जारी गरेको थियो।
चिन्डो उखेलिएको घटनाले विजयपुर क्षेत्रको सांस्कृतिक विवादलाई पुनः चर्चामा ल्याएको छ। स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र कुनै पनि समुदायबीच वैमनस्य फैलिन नदिन सम्बन्धित निकायसँग माग गरेका छन्।
उल्लेखनीय छ, विजयपुर क्षेत्रमा रहेको लिम्बू समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी विवादमा परेको रिटमाथि फैसला गर्दै सर्वोच्च अदालतले (रिट नं. ०७३-WO-९३०, नेपाल कानुन पत्रिका २०७५) ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदामा असर पर्ने गरी कुनै पनि विकास निर्माण वा संरचना निर्माण गर्नुअघि सम्बन्धित सम्पदाको संरक्षण सुनिश्चित गर्न सरकारलाई आदेश दिएको थियो। अदालतले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको भाषा, संस्कृति र सांस्कृतिक सम्पदाको संरक्षणलाई सम्मान गर्नुपर्ने पनि स्पष्ट गरेको थियो।
विजयपुर क्षेत्रमा चिन्डो र सिलाम साक्मा स्थापनालाई लिएर विवाद चलिरहेका बेला आइतबार चिन्डो उखेलिएको घटनाले अवस्था थप संवेदनशील बनेको छ। घटनाको जानकारी पाएपछि नेपाल प्रहरी घटनास्थलमा पुगेको छ र अनुसन्धान सुरु गरेको छ। स्थानीयले सर्वोच्च अदालतको आदेशको भावना अनुरूप ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र कुनै पनि समुदायबीच द्वन्द्व सिर्जना हुन नदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। (सर्वोच्चको आदेस )




























Discussion about this post