धरान, भदौ ७ । आदिवासी याक्खा समुदाय भित्रको कोयोङ्बा थरको संस्था कोयोङवा याक्खा समाजले संगठन विस्तारलाई तीव्रता दिएको छ। यसैक्रममा धरान उपमहानगरपालिकामा रहेका कोयोङवा याक्खाहरूको भेलाबाट कोयोङवा याक्खा समाज धरान उपमहानगर समिति गठन गरिएको छ।
२०८३ साल भदौ ७ गते कोयोङवा याक्खा समाज सुनसरी जिल्ला समितिकी उपाध्यक्ष अनिता कोयोङवा याक्खाको अध्यक्षतामा सम्पन्न भेलाले राजेन्द्र कोयोङवा याक्खाको अध्यक्षतामा धरान उपमहानगर समिति गठन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा कमला कोयोङवा याक्खा, सचिवमा रुपना कोयोङवा, कोषाध्यक्षमा लिला कोयोङवा याक्खा चयन भएका छन्। सदस्यहरूमा दुर्गामणि कोयोङवा, अबिना कोयोङवा र याक्खा प्रेम कोयोङवा रहेका छन्।
भेलामा कोयोङवा याक्खा समाज केन्द्रीय समितिका अध्यक्ष कृष्ण कोयोङवा, उपाध्यक्ष गीता कुमारी कोयोङवा, सचिव राजकुमार कोयोङवा, कोषाध्यक्ष तेजबहादुर कोयोङवा तथा सदस्यहरू कल्पना कोयोङवा, शम्भुजित कोयोङवा र सीताराम कोयोङवाको उपस्थिति रहेको थियो। त्यस्तै सल्लाहकार गोमबहादुर कोयोङवा र मच्छिन्द्र कोयोङवा पनि भेलामा सहभागी थिए।
कोयोङवा याक्खा समाज याक्खा जातिभित्रको एक थरका रूपमा रहेको समाजले जनाएको छ। याक्खा जातिको भाषा, संस्कार, संस्कृति, रीतिरिवाज तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संस्था वैधानिक रूपमा सुनसरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको संस्थापक अध्यक्ष हेमराज कोयोङवाले जानकारी दिए।
उनका अनुसार विभिन्न स्थानमा छरिएर रहेका कोयोङवाहरूलाई संगठित गरी एउटै संस्थागत छातामुनि ल्याउने उद्देश्यले पनि संगठन विस्तारलाई प्राथमिकता दिइएको हो।
हालसम्म कोयोङवा याक्खा समाजले सिक्किम, दार्जिलिङ, गान्तोकलगायत भारतका विभिन्न क्षेत्र तथा नेपालका संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, उदयपुर र काठमाडौंसम्म रहेका कोयोङवाहरूलाई संस्थामा समेटिसकेको कुरा संस्थापक अध्यक्ष हेमराज कोयोङवाले बताए।
समाजले आगामी दिनमा पनि संगठन विस्तारसँगै याक्खा समुदायको भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा पुस्तान्तरणमा सक्रिय भूमिका खेल्ने जनाएको छ।





















Discussion about this post