बेलायतमा हुँदैछ दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल, सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्मको सहभागिता

लन्डन । नेपाल तथा भारतका आदिवासी समुदायका कथा, संस्कृति, भाषा र पहिचानलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल (NIFF) २०२६ बेलायतमा आयोजना हुने भएको छ।

सेप्टेम्बर २७ मा हुने फेस्टिभलमा भारतको सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जी.टी. ढुंगेल (गे त्सेरिङ ढुंगेल) विशेष अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

फेस्टिभलमा सिक्किम आर्ट, कल्चर एन्ड हेरिटेज डेभलपमेन्ट बोर्डका अध्यक्ष सञ्जय राई, सिक्किम म्युजिक, ड्रामा, डान्स एन्ड फिल्म बोर्डका अध्यक्ष तासी छिरिङ भुटिया तथा निर्देशक नियारा सुब्बालगायतको सहभागिता रहनेछ।

नेपाली चलचित्र क्षेत्रबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री मिरुना मगरसहित गौमाया गुरुङ, सृजना निङलेक्खु र पशुपति राईलगायत कलाकारहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ।

फेस्टिभलमा नेपाल तथा भारतका विभिन्न आदिवासी समुदायका कथा, जीवनशैली, भाषा, संस्कृति र पहिचानमा आधारित चलचित्र प्रदर्शन गरिनेछ। साथै, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार समारोहसमेत आयोजना हुनेछ।

फेस्टिभल निर्देशक तथा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानका अनुसार आदिवासी समुदायका कथा, पहिचान, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउनु कार्यक्रमको मुख्य उद्देश्य हो।

उनका अनुसार फेस्टिभलले आदिवासी चलचित्रकर्मी तथा कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउनुका साथै नेपाल र भारतका विभिन्न समुदायबीच चलचित्र तथा संस्कृतिका माध्यमबाट सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।

दोस्रो NIFF २०२६ तथा NEFIN UK का अध्यक्ष मेजर योगेश कोयी राई रहेका छन् भने फेस्टिभल निर्देशक अरुण प्रधान रहेका छन्।

कार्यक्रम:
📅 २७ सेप्टेम्बर २०२६
🎬 चलचित्र प्रदर्शन: बिहान १०:३०–दिउँसो २:३० बजे
🏆 पुरस्कार समारोह: दिउँसो ३:००–साँझ ७:३० बजे
📍 स्थान: Empire Banqueting & Hall, High St, Aldershot GU11 1DJ, United Kingdom

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित