लिम्बू पत्रकार संघद्वारा ५ बुँदे ‘धरान घोषणा-पत्र’ जारी: लोककल्याणकारी विज्ञापन कटौती फिर्ता र मातृभाषा भाषा कार्यान्वयनको माग

​धरान, सुनसरी । लिम्बू पत्रकार संघ (संघीय कार्य समिति) ले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सुनसरीको धरान, चुम्लुङ्गहिममा एक समारोहका बीच ५ बुँदे ‘धरान घोषणा-पत्र’ जारी गरेको छ। संघका अध्यक्ष सन्देश सुब्बाद्वारा २०८३ असोज ३ गते हस्ताक्षरित उक्त घोषणा-पत्रमार्फत बाढी प्रभावितको राहत, लोककल्याणकारी विज्ञापनको पुनःविचार, मातृभाषाको सरकारी कामकाज, र विजयपुर दरबारको संरक्षणलगायतका विषयमा सरकारको ध्यानकर्षण गराइएको छ।

​घोषणा-पत्रका मुख्य ५ बुँदाहरू:

​१. बाढी प्रभावितको खोजी तथा राहतको माग: गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी-उद्धार कार्य र बाढी प्रभावितहरूको राहत तथा पुन:स्थापनालाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरिएको छ।

​२. लोककल्याणकारी विज्ञापन कटौतीको विरोध: नेपाल सरकारले पत्रपत्रिकाहरूलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा व्यापक कटौती गर्दा साना र स्वरोजगारमूलक सञ्चारगृहहरू मार्कामा परेको भन्दै सो निर्णयमाथि पुनर्विचार गर्न माग गरिएको छ। साथै साना स्वरोजगारमूलक सञ्चारमाध्यम र मातृभाषा पत्रकारिताको प्रवर्द्धनका लागि ठोस नीति तथा कार्यक्रम बनाउन तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ।

​३. मातृभाषा सरकारी कामकाजको भाषा बनाउनुपर्ने: भाषा आयोगले वि.सं. २०७८ भदौ २१ गते नै कोशी प्रदेश (तत्कालीन १ नं. प्रदेश) मा नेपाली भाषाका अतिरिक्त याक्थुङ/लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिश गरेको भए पनि हालसम्म कार्यान्वयनमा नआएकाले यसलाई अविलम्ब कार्यान्वयनमा ल्याउन प्रदेश सरकारसँग माग गरिएको छ।

​४. विजयपुर दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य: ऐतिहासिक राजधानी विजयपुर दरबारको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्दै यसलाई भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने दीर्घकालीन लक्ष्यका साथ पुरातत्व विभागसँग समन्वय गरी वैज्ञानिक उत्खनन, सीमाङ्कन, अभिलेखीकरण तथा विस्तृत ऐतिहासिक अध्ययनको प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गरिएको छ।

​५. धन्यवाद ज्ञापन: २२ औं स्थापना दिवस समारोहमा प्रमुख अतिथ्यता ग्रहण गर्नुहुने १ नं. प्रदेश (कोशी प्रदेश) सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री मा. खिनु लङ्वा, विशिष्ट अतिथ्यता ग्रहण गर्नुहुने पूर्व प्रदेश प्रमुख प्रा. डा. गोविन्द तुम्बाहाङ् लगायत सम्पूर्ण अतिथिहरू र स्थानीय व्यवस्थापनका लागि लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति सुनसरीलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित