“हाम्रो धरान” पाठ्यपुस्तकको विवादित पाठ अझै अध्यापनमा, सहमति कार्यान्वयन नभएको चुम्लुङको गुनासो

धरान, साउन १८ (चिसेफायु) । धरान उपमहानगरपालिकाले कक्षा ६ का लागि तयार पारेको स्थानीय पाठ्यपुस्तक “हाम्रो धरान” मा समावेश गरिएको विजयपुरगढीसम्बन्धी विवरण ऐतिहासिक दृष्टिले त्रुटिपूर्ण रहेको भन्दै किरात याक्थुङ चुम्लुङले पुनः ध्यानाकर्षण गराएको छ।

पाठ्यपुस्तकको पृष्ठ १२८, पाठ २ – धरानका विशिष्ट स्थान र पक्षहरू अन्तर्गतको विजयपुरगढी शीर्षकमा उल्लेखित सामग्री ऐतिहासिक रूपमा प्रमाणिक नभएको चुम्लुङको ठहर छ। यस सम्बन्धमा २०८१ साल जेठ २२ गते चुम्लुङका विभिन्न संरचनाहरू (जिल्ला समिति सुनसरी, धरान उपमहानगर समिति र लिम्बु विद्यार्थी मञ्च) ले संयुक्तरूपमा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई औपचारिक ध्यानाकर्षण पत्र बुझाएका थिए।

साथै, असार १० गते नगर प्रमुख, शिक्षा महाशाखा प्रमुख तथा चुम्लुङ प्रतिनिधिबीच बैठक बस्दै विषय विशेषज्ञ डा. कमल तिगेलाको नेतृत्वमा संशोधन प्रक्रिया अघि बढाइएको थियो। संशोधित पाठ तथा सन्दर्भ सामग्री साउन २८ गते नगरपालिकामा बुझाइएको थियो। सहमति अनुसार त्यसपछि पुरानै पाठ तत्काल शिक्षणबाट हटाउने निर्णयसमेत भएको थियो।

तर, नयाँ शैक्षिक सत्र २०८२/८३ मा चुम्लुङले धरान क्षेत्रका केही विद्यालयमा गरेको अनुगमनका क्रममा पुरानै पाठ अध्यापन भइरहेको फेला परेको जनाएको छ। संशोधित सामग्री समावेश नगरिएको भन्दै चुम्लुङले गम्भीर असन्तुष्टि जनाएको हो।

किरात याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष शिव सुब्बा (ईस्बो) का अनुसार, “नगरपालिका र चुम्लुङबीच भएको औपचारिक सहमति कार्यान्वयनमा नआएको स्पष्ट देखिन्छ। यस्तो लापरबाहीले समुदायको सांस्कृतिक इतिहासमाथि गलत सन्देश दिन सक्छ। अब हुने सम्पूर्ण क्षतिको जिम्मा उपमहानगरपालिकाको हुनेछ।”

यस सम्बन्धमा शिक्षा महाशाखा र नगर प्रमुखको तर्फबाट तत्काल प्रतिक्रिया आएको छैन। विवाद मिलाउने पहल नगरे विद्यालय र स्थानीय तहबीच अविश्वास बढ्ने खतरा चुम्लुङले औंल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित