सङ्खुवासभा जिल्ला अस्पतालमा पहिलो पटक जटिल पेटको शल्यक्रिया सफल

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला अस्पतालमा पहिलो पटक जटिल प्रकारको पेटको शल्यक्रिया (Laparotomy) सफलतापूर्वक सम्पन्न भएको छ। ठूलो आन्द्रामा प्वाल परी पेटभरि दिसा फैलिएको र सेप्टिक शकको गम्भीर अवस्थामा रहेकी ६८ वर्षीया वृद्धाको आकस्मिक शल्यक्रिया गरी चिकित्सक टोलीले ज्यान जोगाएको हो।

संखुवासभा बुलेटिनका अनुसार भोजपुरको षडानन्द नगरपालिका निवासी ती वृद्धा चार दिनदेखि तल्लो पेटमा अत्यधिक दुखाइ भएपछि गम्भीर अवस्थामा जिल्ला अस्पताल ल्याइएकी थिइन्। परीक्षणका क्रममा ठूलो आन्द्राको Sigmoid Colon मा प्वाल परेको र त्यसबाट संक्रमण शरीरभरि फैलिएको पाइएको अस्पतालले जनाएको छ।

बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया गर्ने निर्णय गरेका थिए। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा कन्सल्टेन्ट जनरल सर्जन डा. सन्तोष देवको नेतृत्वमा असोज १९ गते शल्यक्रिया गरिएको हो।
शल्यक्रिया टोलीमा जनरल सर्जन डा. राज्य प्रकाश राई, एनेस्थेसिया विशेषज्ञ डा. प्रियंका दाहाल तथा ओटी र आईसीयूका नर्सिङ कर्मचारी सहभागी थिए।

चिकित्सक टोलीले पेट चिरेर आन्द्रामा परेको प्वालको उपचार गर्नुका साथै पेटभित्र फैलिएको दिसा तथा संक्रमित पदार्थ सफा गरेको थियो। साथै, दिसा अस्थायी रूपमा बाहिर निकाल्ने बाटो बनाउने Loop Sigmoidostomy प्रविधिमार्फत शल्यक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ।

शल्यक्रियापछि बिरामीलाई आईसीयूमा राखेर विशेष निगरानीमा उपचार भइरहेको छ। अस्पतालका अनुसार शल्यक्रियाको पहिलो दिनमै बिरामीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको छ।

जिल्ला अस्पतालमै पहिलो पटक यति जटिल प्रकृतिको शल्यक्रिया सफल भएपछि जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार भएको सन्देश गएको छ। यसले जटिल उपचारका लागि बिरामीलाई धरान वा विराटनगर लैजानुपर्ने बाध्यता समेत क्रमशः कम गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ। (तस्बिर संखुवासभा बुलेटिन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित