प्रकृति फिल्म्सको नयाँ सिरियल ‘कथा अझै बाँकी छ’ युट्युबमा सार्वजनिक

काठमाडौं। जीवनका भोगाइ, मानवीय सम्बन्ध र समाजका अनेकौँ पाटोलाई कथामार्फत उजागर गर्ने उद्देश्यसहित तयार पारिएको नेपाली टेलिसिरियल ‘कथा अझै बाँकी छ’ को पहिलो भाग सार्वजनिक भएको छ। प्रकृति फिल्म्सको प्रस्तुति रहेको उक्त सिरियल यसै साता युट्युबमार्फत दर्शकमाझ ल्याइएको हो।

‘एउटा कथा, केही सम्बन्ध र धेरै भावनाहरू… तर कथा अझै बाँकी छ’ भन्ने भावनात्मक सन्देश बोकेको सिरियलले मानिसको जीवनमा आउने विभिन्न मोड, सम्बन्धभित्र लुकेका अनुभूति र समाजमा घट्ने घटनालाई कथात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ। मनोरञ्जनसँगै जीवन र समाजका विविध पक्षमाथि दर्शकलाई सोच्न प्रेरित गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ।

सिरियलको लेखन तथा निर्देशन प्रल्हाद खरेलले गरेका छन् भने दीपक खड्का निर्माता हुन्। विविध अनुभव र अभिनय क्षमता भएका कलाकारहरूको सहभागिताले सिरियललाई जीवन्त बनाउने अपेक्षा गरिएको छ।

सिरियलमा सुनिल कटुवाल, राधा श्रेष्ठ, प्रल्हाद खरेल, जेबी डिसी, देव महर्जन, दिपमाला परियार, दिवाकर घिमिरे, रिता थापा, सुमित्रा श्रेष्ठ, सानु पाण्डे, निशा पन्थी, निर्मल साउद, रूपा मानन्धर, रश्मि गुरुङ, विपुल थापा, आशिष खत्री, आयान थापा, भुवन थापा र रोहन आचार्यलगायत कलाकारको अभिनय रहेको छ।

यस सिरियलको शीर्ष गीतले पनि भावनात्मक पक्षलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। गीतका शब्द प्रल्हाद खरेलले रचेका हुन् भने बादल सेवा र सिद्धिका ढकालले स्वर दिएका छन्। संगीत बादल सेवाको रहेको गीतको एरेन्ज राजु कार्की र मिक्सिङ योगेन मुकारुङले गरेका छन्। त्यस्तै, पाश्र्व संगीतमा विकास चौधरी र विनोदकुमार भुजेलले योगदान दिएका छन्।

प्राविधिक पक्षमा निरज कँडेलले छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी सम्हालेका छन्। क्यामेरा सहायकका रूपमा अनिल जीसी ‘बुलेट’, द्वन्द्व निर्देशनमा देव महर्जन र सहायक निर्देशनमा विपुल थापा संलग्न छन्। सम्पादन, कलर तथा डिजाइनको जिम्मेवारी प्रेम शर्मा पौडेलले सम्हालेका छन् भने शृङ्गारमा रूपा मानन्धरको योगदान रहेको छ।

नेपाली मनोरञ्जन क्षेत्रमा समाज र जीवनसँग नजिक रहेका कथावस्तु प्रस्तुत गर्ने प्रयासका रूपमा आएको ‘कथा अझै बाँकी छ’ ले दर्शकको कस्तो साथ पाउनेछ भन्ने चासो बढेको छ। पहिलो भाग सार्वजनिक भएसँगै अबका शृङ्खलामा कथाले कस्तो मोड लिन्छ र पात्रका सम्बन्धहरू कसरी अघि बढ्छन् भन्ने विषय दर्शकका लागि प्रतीक्षाको विषय बन्न सक्छ।

सिरियलको पहिलो भाग प्रकृति फिल्म्सको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ। आगामी भाग तथा नयाँ जानकारीका लागि च्यानलसँग जोडिन निर्माण पक्षले दर्शकलाई आग्रह गरेको छ।

कथा सुरु भएको छ, पात्रहरू भेटिएका छन्, भावनाहरू खुल्दैछन्—तर कथा अझै बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित