काठमाडौं, २०८२ असोज २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र शैक्षिक संस्थाका कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन निर्देशन दिएका छन्। मन्त्रालयबाट शुक्रबार जारी औपचारिक सूचना पत्रमार्फत मन्त्री पुनले हाल इमेल, टेलिफोन, व्हाट्सएप र सामाजिक सञ्जालमार्फत शिक्षक, विद्यार्थी तथा संघ–संस्थाहरू (जस्तै शिक्षक महासंघ, ट्रेड युनियन) संलग्न राजनीतिक तथा गैर–पेशागत गतिविधि सम्बन्धी गुनासाहरू प्राप्त भएको जानकारी दिएका छन्।
सूचनामा शिक्षक तथा प्राध्यापकको मुख्य कर्तव्य शिक्षण र शैक्षिक सुधारमा केन्द्रित रहनु पर्ने उल्लेख गर्दै, पार्टीगत संलग्नता वा राजनीतिक गतिविधि पेशागत आचारसंहिताविरुद्ध हुने चेतावनी दिइएको छ। यस्ता गतिविधिमा संलग्न भेटिएमा शिक्षा ऐन र सेवाशर्त नियमावलीअनुसार कानूनी कारबाही हुने मन्त्रालयले जनाएको छ।
मन्त्री पुनले राजनीतिक प्रभावमा शिक्षक संघ वा संगठन गठन गर्नु मन्त्रालयको नीतिविपरीत भएको स्पष्ट गर्दै अनुशासनात्मक कारबाहीको चेतावनी दिएका छन्। साथै, शिक्षकमाथि संविधानले दिएको स्वतन्त्रता र अधिकारको सम्मान गर्दै पेशागत निष्ठा, दायित्व र शिक्षण गुणस्तरमा ध्यान दिन पुनः आव्हान गरेका छन्।





















Discussion about this post