काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई सी. के. राउत ले विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जनमत पार्टीको तर्फबाट सुझाव पेश गर्दै उहाँले संघीय संविधानलाई मुख्य सार समेटिने गरी छोटो र स्पष्ट बनाउनुपर्ने धारणा राख्नुभयो। विस्तृत व्यवस्थाहरू भने प्रदेशहरूले आफ्नै संविधानमार्फत तय गर्न पाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले उदाहरणका रूपमा संयुक्त राज्य अमेरिका को संघीय संविधान छोटो भए पनि राज्यहरूका आ–आफ्नै विस्तृत संविधान रहेको उल्लेख गर्नुभयो। नेपालको संविधानमा पनि अनुसूचीमार्फत प्रदेशहरूलाई स्पष्ट अधिकार, अवशिष्ट अधिकार तथा अग्राधिकार सुनिश्चित गर्दै वास्तविक स्वायत्तता प्रदान गर्नुपर्ने सुझाव उहाँले दिनुभयो।
त्यसैगरी प्रदेशको आफ्नै प्रदेश गान र झण्डाको व्यवस्था गर्नुपर्ने, प्रहरी प्रशासन, कर्मचारी संयन्त्र तथा स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने प्रस्ताव पनि उहाँले अघि सार्नुभएको छ।
शासकीय स्वरूपका विषयमा उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। साथै सांसदहरू मन्त्री बन्न नपाउने, संवैधानिक निकायका प्रमुखहरू समेत निर्वाचित हुने व्यवस्था गर्नुपर्ने तथा न्यायपालिकामा दलीयकरण अन्त्य गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो।
यससँगै उहाँले “नौलो गणतन्त्र”को अवधारणा समेत कार्यदलसमक्ष प्रस्तुत गर्नुभएको जनाइएको छ।




















Discussion about this post