बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समावेश नगर्न धरान उपमहानगरको आग्रह

धरान, जेठ २० — धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रस्तावित एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समावेश नगर्न संघीय सरकारसँग आग्रह गरेको छ।

कार्यवाहक नगर प्रमुख ऐन्द्र विक्रम बेघाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत सरकारले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्थापनसम्बन्धी विधेयक तयार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ सहित विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐनहरू खारेज गर्ने तयारी गरेको विषयमा उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केवल शैक्षिक संस्थाका रूपमा मात्र नभई पूर्वी नेपालको प्रमुख स्वास्थ्य उपचार केन्द्र तथा राष्ट्रिय प्रतिष्ठाको संस्थाका रूपमा उल्लेख गरिएको छ। प्रतिष्ठानले पूर्वी नेपालका लाखौं नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्दै यसको स्वतन्त्र अस्तित्व कायम रहनुपर्ने धारणा व्यक्त गरिएको छ।

धरान उपमहानगरपालिकाले प्रतिष्ठानलाई एकीकृत संरचनामा समावेश गर्दा धरानवासी, प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरूको कार्यमूल्यांकन, वृत्ति विकास र सेवा प्रवाहमा नकारात्मक असर पर्न सक्ने जनाएको छ।

पत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ सुदृढ र सक्षम स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्दै अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारसमक्ष उक्त संस्थाको स्वायत्तता कायम राख्न आग्रह गरिएको छ।
उक्त पत्रको बोधार्थ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई समेत पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित